Monday, March 9, 2009

घटराज भट्टराई, एक परिचय


घटराज भट्टराईको जन्म संवत् १९९९ साल मङ्सीर १० गते ओखलढुङ्गाको सेर्नामा भएको थियो । उहाँले २०२५ सालमा त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा एम.ए. गर्नुभएको थियो । उहाँले ३५ वर्ष सोही विश्वविद्यालयमा प्राध्यापन गर्नुभएको थियो । साथै उहाँ पशुपति बहुमुखी क्याम्पसमा २२ वर्ष अघिदेखि क्याम्पस प्रमुख हुनुहुन्थ्यो ।

घटराज भट्टराई सुप्रवल गोरखा दक्षिणबाहु, गद्दीआरोहण रजतमहोत्सव पदक, वीरेन्द्रऐश्वर्य सेवा पदक, भूपालमानसिंह कार्की कृति पुरस्कार, मुक्ति पुरस्कार (सीताराम प्रज्ञाप्रतिष्ठान), झपट पुरस्कार, वेदनिधि पुरस्कार, दीपरत्न सम्मान, छिन्नलता सम्मान आदिबाट विभूषित र सम्मानित हुनुहुन्थ्यो । साथै उहाँ थुप्रै सामाजिक, शैक्षिक र सांस्कृतिक संस्थाबाट अभिनन्दित पनि हुनुभएको थियो । उहाँ २०३१ सालमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट आयोजित राष्ट्रिय कविता महोत्सवमा प्रथम हुनुभएको थियो ।

घटराज भट्टराईँका निबन्ध, प्रवन्ध, जीवनी, काव्य, खोज, अनुसन्धान, समालोचना, पाठ्यपुस्तक गरी अनेकौँ कृति प्रकाशनमा आएका छन् ।

घटराज भट्टराईँ त्रिमूर्ति निकेतन र लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो। साथै उहाँ लेखनाथ पौड्याल काव्यसभा, बालकृष्ण सम फाउन्डेशन, सीताराम प्रज्ञाप्रतिष्ठान, भारती खरेल प्रतिष्ठान, झपट पुरस्कार गुठी, वेदनिधि प्रबन्ध समिति, छिन्नलता गुठी, कोइलीदेवी सङ्गीत कोष, नइ प्रकाशनआदि संस्थामा पनि स्थापनाकालदेखि नै सकृय रुपमा संलग्न हुनुहुन्थ्यो । उहाँ त्रिभुवन विश्वविद्यालय सिनेट र नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्य पनि हुनुन्थ्यो ।

घटराज भट्टराई काठमाडौंको कपनफैंकामा बसोबास गर्दै आउनुभएको थियो। उहाँका श्रीमती प्रभा भट्टराई, दुई छोरा डा.दिनेश र डा.राजेश, चार छोरी साधना, कल्पना, रमा र अर्चना हुनुहुन्छ ।

घटराज भट्टराईको मस्तिष्क क्यान्सर (Glioblastoma multiforme: grade IV) का कारणबाट २०६३ साल साउन २२ गते सोमबार राति १०:१० बजे निधन भएको थियो ।

घटराज भट्टराईका कृति

कविता

१. कविताकुसुम (२०२३)

२. आजकीसित (२०२३)

३. काव्यत्रयी (२०२३)

४. बादल फाटेपछि (२०२५)

५. अमरज्योति (२०२९)

६. मोतीमत (२०३९)

७. जयबाल (२०५१)

जीवनी तथा समालोचना

८. गुणराज : व्यक्ति र कृति (२०३१)

९. भिमनिधि: व्यक्ति र कृति (२०३२)

१०.संस्कृतका अमर साहित्यकार (२०३४)

११.अमरप्राज्ञ (२०३९)

१२.प्रतिभै प्रतिभा र नेपाली साहित्य (२०४०)

१३.बालचन्द्र शर्मा :व्यक्तित्व र साधना (२०४४)

१४.खोजखाज (२०५४)

१५.साहित्यकार परिचय कोश (२०५१)

१६.नेपाली लेखक कोश (२०५६)

निबन्ध

१७.डोल्पाकी छोटी (२०३९)

१८.गोसाईकुण्ड (२०४६)

१९.भानुयात्राका आठदिन (२०५४)

अन्वेषण तथा सम्पादन

२०. आशुकवि शम्भुका काव्यकृति (२०३७)

२१. साहित्यकार झपटबहादुर राणा (२०३७)

२२. लुकेका कवि र कविता (२०३९)

२३. माध्यमिककालीन कवि र कविता (२०४५)

२४. यज्ञरचनावली (२०४६)

२५. आशुकवि शम्भुप्रसाद ढुङ्गेलको परिचय (२०४६)

२६. प्राचीन नेपाली पद्यसङ्ग्रह (सघ:२०४६)

२७. प्राचीन नेपाली गद्यसङ्ग्रह (सघ:२०४७)

२८. आदिकवि भानुभक्त आचार्यको जीवनचरित्र (२०४९)

२९. बुइँगलको एउटा बाकस (कसघ:२०५३)

३०. एउटा अर्को बुइँगल (कसघ: २०५३)

३१. शम्भुका गजल (कसघ:२०५४)

३२. शम्भुका गीतहरु (कसघ:२०५४)

३३. शम्भुका स्फुट पद्यहरु (कसघ:२०५४)

३४. शम्भुरचनावली (२०५४)

३५. महाकवि देवकोटाका आनीबानी (२०५५)

पाठ्यपुस्तक

३६. महेन्द्रमाला,भाग ७ (२०३१)

३७. नेपालीव्याकरणः रचना र साहित्य(२०५१)

३८. भाषाविज्ञान र साहित्य सिद्धान्त (२०५४)

३९. व्याकरणबोधः रचना र समीक्षा (२०५४)

४०. नेपालीसाहित्यको ऐतिहासिकरुपरेखा(२०५५)

४१. नेपाली स्नातक समालोचना (२०५९)

४२. नेपाली स्नातकोत्तर समालोचना (२०५९)

(थप कृतिको प्रतीक्षा गरौं)

त्रिमूर्ति निकेतनले निकेतनका संस्थापक अध्यक्ष स्वर्गीय घटराज भट्टराईको पूण्यस्मृतिमा 'घटराज भट्टराई स्मारक कोश'को स्थापना गरेको छ । सो कोश सञ्चालनका लागि निकेतनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईका अध्यक्षतामा नौ सदस्यीय एक समितिको पनि गठन गरिएको छ ।

'घटराज भट्टराई स्मारक कोश' ले एक वर्षम्ममा काठमाडौं उपत्यकाभित्र स्वर्गीय भट्टराईको पूर्णकदको सालिक स्थापना गर्ने भएको छ । मूर्तिकार श्री ओम खत्रीले बनाउने सो सालिकको उचाई साडे छ फूटको हुने छ । मूर्तिकार श्री खत्रीले नै पाँच वर्षअघि चीनको बेझङिमा पनि राष्ट्रियविभूति अरनीकोको पूर्णकदको सालिक बनाउनु भएको थियो । बागलुङ निवासी ३५ वर्षीय श्री खत्री भारतको दिल्ली विश्वविध्यालयबाट M.F.A (मूर्तिकला) मा प्रथम श्रेणीमा प्रथम हुनुभएको हो ।

स्वर्गीय घटराज भट्टराईका विषयमा तीन वटा बृहतग्रन्थ पनि प्रकाशित हुने भएका छन् । नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईको सम्पादनमा प्रकाशित हुने ती ग्रन्थमा स्वर्गीय भट्टराईप्रति समर्पित कविता तथा भट्टराईसँगका संस्मरण र भट्टराईका कृतिमा आधारित समालोचना रहनेछन्

No comments:

Post a Comment